मधेस ‘ड्रग्स’काे चपेटामा पर्दै गएको छ – प्रधानमन्त्री ओली

२०८२ श्रावण ३१, शनिबार १०:२७

सर्लाही – प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा मादक पदार्थको कारोबार र प्रयोग तीव्र गतिमा बढ्दै गएको दाबी गरेका छन् । शुक्रबार जनकपुरमा नवनिर्मित मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

ओलीले आफूलाई प्राप्त रिपोर्टअनुसार मधेसका युवाहरू खुला सिमानाको सहज पहुँचका कारण छिट्टै लागुऔषधको कुलतमा फसिरहेको बताए । उनले भने, “भारतसँगको खुला सिमाना युवाका लागि सजिलो प्रवेशद्वार बनेको छ । लागुऔषध ल्याएर प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ, यो चिन्ताजनक हो ।”

उनले ड्रग्ससँगै चोरी पैठारी र अवैध कारोबार मधेसमा प्रशस्तै भएको उल्लेख गर्दै, “तर यस्ता गतिविधिमा साँचो कारोबारी भने उम्किन्छन्, निर्दोषहरू फस्छन् । यो सुशासन होइन,” भन्दै प्रहरीलाई सक्रियतापूर्वक नियन्त्रणमा लिन निर्देशन दिए। प्रहरीलाई सीमाबाट हुने नाजायज कारोबार तत्काल रोक्नुपर्ने ओलीको भनाइ थियो । उनले भने, “बोर्डरबाट अवैध फाइदा लिनेहरूलाई छिट्टै तह लगाउनुपर्छ ।”

तर कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार सिंहले उठाएका दुई प्रमुख विषय,किसानका लागि राहत प्याकेज र प्रहरी समायोजनमा प्रधानमन्त्रीले कुनै प्रतिक्रिया जनाएनन् । यसले प्रदेश सरकारसँगको सम्बन्धमा अझै दूरी देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ । २३ करोड ५४ लाख ८८ हजार ९११ रुपैयाँ लागतमा बनेको नयाँ प्रशासनिक भवन शुक्रबारदेखि प्रयोगमा आएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार