नागरिकता लिन आमाबुवामध्ये एक जनाको विवरण अनिवार्य

२०८२ भाद्र १, आईतवार २०:४९

सर्लाही – नागरिकता लिन अब आमाबुवामध्ये कम्तीमा एक जनाको विवरण अनिवार्य गर्ने प्रस्ताव अघि सारिएको छ । संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल भएको हो ।

बैठकमा गृहमन्त्री रमेश लेखकले नागरिकतासम्बन्धी कानूनी व्यवस्थामा समयानुकूल सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार हिजोका दिनमा देखिएका थिएनन् तर आज नयाँ चुनौती र परिस्थिति उत्पन्न भएका कारण त्यसलाई सम्बोधन गर्न कानूनी संशोधन आवश्यक भएको हो ।

मन्त्री लेखकले नेपालको नागरिकताको मूल आधार वंश भएको स्पष्ट पार्दै भने, “आमा पनि वंश हुन् भन्ने दृष्टिकोणलाई हामी स्थापित गर्न खोजिरहेका छौं । तर आमा र बुवामध्ये कोही पनि उल्लेख नगरी नागरिकता दिने अभ्यास उपयुक्त हुँदैन ।”

उनले नागरिकताको आवेदनमा अनिवार्यरूपमा आमा वा बुवामध्ये एकजनाको नाम राख्नुपर्ने स्पष्ट पारे । “यदि आमाको नाम राख्न चाहिँदैन भने बुवाको राख्नुपर्छ, बुवाको नाम राख्न चाहिँदैन भने आमाको राख्नुपर्छ, तर कम्तीमा एउटाको नाम भने उल्लेख गर्नैपर्छ । दुवै खाली राखेर नागरिकता दिने अवस्था अब रहँदैन,” मन्त्री लेखकले स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार