मलंगवा – सर्लाहीको हरिपुर्वा नगरपालिकामा गत शुक्रबार साँझ भएको गोली प्रहार प्रकरणका मुख्य आरोपी धर्मेन्द्र राय उर्फ धिरेन्द्र राय यादवमाथि प्रहरीले अनुसन्धानका लागि सात दिनको म्याद थपेको छ । जिल्ला अदालत सर्लाहीले सावन ३१ गतेबाट लागु हुने गरि प्रहरीलाई आवश्यक अनुसन्धान गर्न सात दिनको अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर्वा–६ निवासी ४० वर्षीय रामपुकार यादव आफ्नै घर अगाडि बसिरहेका बेला बिआर ३० एजी २३५४ नम्बरको मोटरसाइकलमा आएका दुई जनामध्ये पछाडिबाट ओर्लिएका युवकले पेस्तोल प्रहार गरेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवको महोत्तरीस्थित जानकी हेल्थ केयरमा पुर्याउदा मृत्यु भएको हो।

गोली प्रहारपछि भाग्ने क्रममा धिरेन्द्र चढेको मोटरसाइकल दुर्घटनामा परेको र उनलाई घाइते अवस्थामा शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै रहेका अर्का व्यक्ति भने अझै फरार छन् । घटनास्थल र धिरेन्द्र बस्दै आएको मलंगवा–९ को डेराबाट नलकटुवा पेस्तोलसहित गोलीका खोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
धिरेन्द्रले यसअघि पनि आफ्नी श्रीमतीलाई गोलि हानि हत्या गरेका थिए। प्रहरीका अनुसार २०८१ असोज ९ गते राति पौने २ बजेतिर उनले आफ्नै घरमा श्रीमती चित्रलेखा कुमारी यादवलाई गोली प्रहार गरी हत्या गरेका थिए भने उनका पिता राम दिनेश रायलाई समेत घाइते बनाएका थिए ।
सो घटनापछि उनि फरार रहेका उनलाई कर्तव्यज्यान र ज्यान मार्ने उद्योग मुद्दामा समेत अभियोग लागेको प्रहरीको दाबी छ । मृतक रामपुकारको शव सावन ३१ गते प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपश्चात आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।
सम्बन्धित समाचार
– सर्लाहीमा निजी विद्यालयका शिक्षकको गोली हानी हत्या
– सर्लाहीमा अज्ञात समूहको गोलि प्रहारबाट शिक्षकको मृत्यु
– हरिपुर्वामा पूर्वशिक्षकमाथि गोलि प्रहार घटना: छोराको लागूऔषध विवादको बदलामा बुवाको हत्या
– हरिपुर्वामा रामपुकारमाथि गोलि प्रहार गरि हत्या गरेका धिरुले एक बर्ष अघि गरेका थिए आफ्नै श्रीमतीको हत्या





