सर्लाही – गौर नरसंहारबारे सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध माइतीघरमा प्रदर्शनमा उत्रिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका करिब २० भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीसँगको धक्का मुक्कीमा आधा दर्जन भन्दा बढी घाइते भएको बताईएको छ।
पक्राउ पर्नेहरुमध्ये जसपा नेपालका प्रवक्ता तथा मधेश प्रदेश सभा सदस्य मनिष कुमार सुमन, केन्द्रीय सदस्य किरण साह, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले लगायतका शीर्ष नेताहरु रहेका छन्।

यसैगरी, बबी सिंह, रेणुराज सिंह, शशिकपुर मियाँ, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, युवासंघका महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, सप्तरीका दिनेश यादव, विद्यार्थी युनियनका महासचिव बलराम कापरी, कार्यालय सचिव मुकेश यादव, सुनसरीकी हंसा साह, पूर्व प्रदेश सभा सदस्य बिन्देश्वर यादव (विक्की), स्मिता यादव, उपाध्यक्ष ललन यादव (रौतहट), मोरंगका भोगेन्द्र यादव लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी वृत सिंहदरबारले पक्राउ गरेका उनीहरु काठमाडौंको माइतीघर र बबरमहल क्षेत्रमा मसाल जुलुससहितको प्रदर्शन गरिरहेका बेला नियन्त्रणमा लिइएको हो। प्रहरीसँगको भिडन्तमा प्रवक्ता सुमन, दिनेश यादव, विक्की यादव, ललन यादव र अध्यक्ष मनिष यादवसहित कैयौं कार्यकर्ता घाइते भएका जसपा नेपालले जनाएको छ।





