दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि थप्पड प्रहार

२०८२ भाद्र ४, बुधबार ११:०४
रेखा गुप्ता

सर्लाही – भारतको राजधानी दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता बुधबार बिहान सार्वजनिक सुनुवाइ कार्यक्रममा आक्रमणको शिकार बनेकी छन्। कार्यक्रममै ३५ वर्षीय एक व्यक्तिले उनीमाथि थप्पड प्रहार गरेका हुन्।

सुनुवाइका क्रममा ती व्यक्तिले मुख्यमन्त्रीलाई केही कागजात बुझाएका थिए। कागज हेरेपछि सामान्य भनाभन चर्किँदै जाँदा उनले अचानक थप्पड हानेका थिए। उक्त घटनापछि सभामुखदेखि सहभागी सबै एकछिन स्तब्ध बनेका थिए।

दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सक्सेनाले घटनाप्रति प्रतिक्रिया दिँदै भने, “थप्पड प्रहार हुनु नै गलत हो। आरोपीले हात तान्दा मुख्यमन्त्रीको टाउको टेबलमा ठोक्किएको थियो। यस्तो आचरण निन्दनीय छ।”

मुख्यमन्त्री कार्यालयले पनि विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको छ। विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक सुनुवाइको क्रममा एक व्यक्तिले मुख्यमन्त्रीमाथि आक्रमण गरे। उनलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ।”

यस घटनापछि दिल्लीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। विपक्षी दलहरूले संवेदनशील कार्यक्रममा समेत सुरक्षा व्यवस्थामा लापरबाही भएको भन्दै आलोचना गरेका छन्।

प्रहरीले आक्रमणकारीको नाम सार्वजनिक नगरे पनि प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत असन्तुष्टि वा आक्रोशका कारण यस्तो घटना भएको हुनसक्ने आशंका गरिएको छ। विस्तृत कारण भने अझै खुलेको छैन।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार