गौर घटनामा निष्पक्ष छानबिन होस् : सङ्घीय लोकतान्त्रिक मोर्चा

२०८२ भाद्र ४, बुधबार २१:१९

सर्लाही – सङ्घीय लोकतान्त्रिक मोर्चाले २०६३ सालको गौर हत्याकाण्डबारे निष्पक्ष र पक्षपातरहित छानबिन गर्न सरकारलाई आग्रह गरेको छ। मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको नाम मुछिँदै आएको उक्त घटनामा सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग मोर्चाले जनाएको हो।

बुधबार काठमाडौंको थापागाउँस्थित जनता प्रगतिशील पार्टीको केन्द्रीय कार्यालयमा अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले गौर घटनाबारे हालसालै सर्वोच्च अदालतले दिएको परमादेशप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

बैठकपछि जारी विज्ञप्तिमा मोर्चाले छानबिन पारदर्शी, तटस्थ र कानूनी प्रक्रिया अनुसार सबैलाई दायरामा ल्याएर गर्नुपर्नेमा जोड दिएको छ। “निष्पक्ष र सफा नियतसहित छानबिन भए कसैले प्रश्न उठाउने छैन, तर तथ्य तोडमोड, एकतर्फी प्रचार वा राजनीतिक प्रतिशोध देखिए प्रतिवादमा उत्रिन बाध्य हुनेछौँ,” विज्ञप्तिमा चेतावनी दिइएको छ।

मोर्चाले यसअघि बनेका छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अझै सार्वजनिक नगरेकोप्रति असन्तोष प्रकट गरेको छ। ती प्रतिवेदनले घटनामा संलग्न निकायको भूमिका, हिंसात्मक भिडन्त सुरु गर्ने पक्ष र गैरजिम्मेवार व्यवहारबारे उठाएका प्रश्नहरू आजसम्म बेवास्ता गरिएको मोर्चाको भनाइ छ।

बैठकले रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ। चुनावी प्रचार प्रसार र संगठनात्मक परिचालनको जिम्मेवारी भने मोर्चा सचिवालयलाई दिइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार