मलंगवा – जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक रजोश घिमिरे साउन महिनाका ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले उनलाई नगदसहित सम्मान गरेको हो। घिमिरेलाई कार्यालयले १ हजार ३ सय रुपैयाँसहित ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ उपाधि प्रदान गरेको हो।

ट्राफिक व्यवस्थापनमा सक्रिय घिमिरेले फुलजोरको अस्थायी ट्राफिक प्रहरी पोष्टलाई स्थानीयवासी, व्यवसायी र ईश्वरपुर नगरपालिकाको सहकार्यमा स्थायी प्रशासनिक भवनमा रुपान्तरण गरेर सञ्चालनमा ल्याएका थिए।
साथै, कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री जुटाउन तथा टिभिआरएस प्रणाली प्रभावकारी बनाउन पनि उनले पहल गरेका छन्।
यसबाहेक, उनले लालबन्दी नगरपालिकाबाट पाँच लाख रुपैयाँको बजेट विनियोजन गराई जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरभित्र दुर्गा भगवती मन्दिर निर्माण तथा उद्घाटनमा विशेष भूमिका खेलेका छन्।
उनको योगदानलाई कदर गर्दै राजमार्ग ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले घिमिरेलाई नगदसहितको अवार्ड प्रदान गरेका हुन्।





