सर्लाहीमा २० किलो भन्दा बढी गाँजासहित दम्पत्ति पक्राउ

२०८२ भाद्र ५, बिहीबार १९:००

मलंगवा – सर्लाहीमा २० किलो भन्दा बढी गाँजासहित दम्पत्ति पक्राउ परेका छन्। आज साँझ जिल्लाको हरिपुर्वा नगरपालिका–५ स्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागुऔषध गाँजासहित एक दम्पत्तिलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज साँझ करिब ४ बजेतिर रुपेश साहको पक्की घरमा गाँजा लुकाई राखिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको संयुक्त टोलीले तलासी गरेको थियो।

प्रहरी चौकी हरिपुर्वाका प्रहरी निरीक्षक शेख हफ्जुल्लाहको कमाण्डमा ४ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको नेतृत्वमा ११ जना र इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा ११ जनाको टोली खटिएको थियो।

तलासीका क्रममा घरको छतमा लुकाई राखिएको २० किलो ३४० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। सोही क्रममा घर धनी ४५ बर्षीय रुपेश साह र उनकी पत्नी ३५ बर्षिया प्रतिमा कुमारी साहलाई समेत नियन्त्रणमा लिइएको छ।

बरामद गरिएको गाँजा सहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार