भोजपुरी स्टार पवन सिंहमाथि ठगी मुद्दा

२०८२ भाद्र ६, शुक्रबार ०९:४७

जनकपुर – चर्चित भोजपुरी गायक तथा अभिनेता पवन सिंह कानूनी झमेलामा तानिएका छन्। वाराणसीको अतिरिक्त मुख्य न्यायिक दण्डाधिकारी – द्वितीय (ACJM-II) ले अगस्ट १३ प्रहरीलाई पवन सिंहसहित तीन जनाविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्न आदेश दिएपछि उनी कानूनी संकटकाबीच परेका हुन्।

स्थानीय होटल व्यवसायी विशाल सिंहले दर्ता गराएको उजुरीका आधारमा अदालतले यस्तो आदेश दिएको हो। विशालले २०१८ मा रिलिज भएको भोजपुरी फिल्म बस्स (Boss) मा लगानी गर्न लगाइए पनि वाचा गरेअनुसार नाफा बाँडफाँट नगरेको आरोप लगाएका छन्।

व्यवसायीका अनुसार, उनले सुरुवाती चरणमा करिब ३२ लाख ६० हजार रुपैयाँ आफ्नै र भाइको कम्पनीमार्फत विभिन्न खातामा पठाएर आधिकारिक रूपमा निर्माता मान्यता पाएका थिए। त्यसपछि थप १ करोड २५ लाख रुपैयाँ लगानी गरेर कुल लगानी डेढ करोड रुपैयाँभन्दा माथि पुगेको दाबी गरिएको छ। तर, फिल्म पूरा भएर प्रदर्शन भएपछि आफूलाई पूर्ण रूपमा पाखा लगाइयो र नाफाको कुनै अंश उपलब्ध गराइएन भन्ने आरोप उनले उजुरीमा उल्लेख गरेका छन्।

व्यवसायी विशाल सिंहले रकम फिर्ता माग्दा पवन सिंहले ज्यान मार्ने धम्कीसमेत दिएको दाबी गरेका छन्। उनका अधिवक्ता अशिष सिंहका अनुसार, पीडितले बारम्बार प्रहरी र प्रहरी आयुक्तलाई उजुरी दिए पनि सुनुवाइ नभएपछि अन्ततः अदालत धाउनुपरेको हो।

भोजपुरी सिनेमामा निकै लोकप्रिय पवन सिंहले २००८ मा सार्वजनिक भएको ‘लॉलीपप लागेलु’ गीतमार्फत सम्पूर्ण भारतमा नाम कमाएका थिए। ऊर्जाशील स्वर र अभिनय शैलीका कारण उनीसँग ठूलो संख्यामा प्रशंसक छन्। तर हाल ठगी र धम्की आरोपमा नाम जोडिएपछि उनी कानूनी चुनौतीसँगै सार्वजनिक आलोचनाको पनि घेरामा आएका छन्।

अहिलेसम्म पवन सिंहले आफूमाथि लागेको आरोप वा अदालतको आदेशबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार