भदौ ११ देखि सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

२०८२ भाद्र ६, शुक्रबार १३:५९

सर्लाही – विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सडक आन्दोलन गर्ने घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले विभिन्न चरणमा हुने कार्यक्रम सार्वजनिक गरेको हो।

महासंघले भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री, दलका शीर्ष नेता र समिति सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने जनाएको छ। सोही दिन दुई घण्टा धर्ना बस्ने कार्यक्रम पनि छ। भदौ ११ गतेदेखि भने सडक आन्दोलन थालिने र १३ गते सबै पालिकामा, १५ गते जिल्लास्तरमा ध्यानाकर्षणपत्र बुझाइने महासंघले जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भदौ २१ गते दोस्रो चरणका थप आन्दोलन कार्यक्रम घोषणा गरिने जानकारी दिए। उनले प्रस्तावित शिक्षा विधेयक महासंघसँग भएको सहमतिविपरीत पारित भएको आरोप लगाउँदै शिक्षक–कर्मचारीका प्रमुख सरोकारहरू उपेक्षा गरिएको दाबी गरे।

“कतिपय पालिकाले शिक्षकको सहमति बेवास्ता गर्दै मनपरी सरुवा गरेका छन्, यसले असन्तुष्टि चुलिएको छ,” सुवेदीले चेतावनी दिँदै भने, “अबको आन्दोलन यसअघिको भन्दा कडा र दबाबपूर्ण हुनेछ।”

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ ६ गते मात्र विधेयक पारित गरेको हो। यस विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले समेत आपत्ति जनाएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार