सर्लाहीको मलंगवामा सर्बोच्चको परमादेश विरुद्ध बृहत बिरोध प्रदर्शन

२०८२ भाद्र ६, शुक्रबार २०:५०

सर्लाही – गौर घटनाको १९ वर्षपछि जाँचबुझ गर्ने नाममा सर्वोच्च अदालतले भदौ २ गते सोमबार जारी गरेको परमादेशको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्लाहीको सदरमुकाम मलंगवामा शुक्रवार बृहत बिरोध प्रदर्शन गरेको छ ।

सर्बोच्चले जारी गरेको परमादेश न्यायको नाममा राजनीतिक प्रतिशोध र कुनै न्यायिक संवेदनशीलता वा सत्यको खोजी नभई, स्पष्ट रूपमा नश्लीय चिन्तन र राजनीतिक पूर्वाग्रहले ओतप्रोत रहेको यस षडयन्त्रको विरुद्धमा जसपा नेपालका हजारौं स्थानीय नेता तथा कार्यकर्ताहरु बृहत बिरोध प्रदर्शनमा उत्साह पुर्वक सहभागी भएका छन् ।

विशेषगरी पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जबरजस्ती फसाउने प्रयास भएको र यसले मधेश जनविद्रोह र सहिदहरूको बलिदानि माथि ठुलो आघात पुगेको ठहर गर्दै उक्त परमादेशको विरुद्धमा सर्लाहीको सदरमुकाम मलंगवामा बृहत बिरोध प्रदर्शन भएको हो ।

कुनै पनि दृष्टिकोणबाट निष्पक्ष जाँचबुझ नभई यो नियोजित राजनीतिक षड्यन्त्र मात्र रहेको र यसले मुलुकको संघीयता, समावेशी लोकतन्त्र र विगतमा भएका मधेस आन्दोलनलाई कमजोर पार्ने र मधेसीको जनताको अधिकार र आवाज दवाउने सुनियोजित प्रयास भएको पार्टीका नेता एवं मधेश प्रदेशका प्रदेशसभा सदस्य तथा पुर्व अर्थ मन्त्री संजय यादवले बताएका छन् ।

पुर्व मन्त्री यादवले भने, न्यायालयलाई राजनीतिक अस्त्रमा रूपान्तरण गर्ने प्रवृत्ति लोकतन्त्रको जरा काट्ने काम हो । न्यायको मन्दिरमा पूर्वाग्रह राखेर हुने कुनै पनि कदमले सत्यलाई ढाकछोप गर्न सक्दैन । यसरी १९ वर्षपछि पुनः उठाइएको मुद्दा राजनीतिकरूपमा प्रेरित छ भन्नेमा दुईमत हुन सक्दैन उनले जनाए ।

पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानले, गौर घटना केवल राजनीतिक झडप नभई मधेश आन्दोलनकै निर्णायक मोड भएको उल्लेख गर्दै सहिदको बलिदानलाई न्याय नदिने न्यायालयको आदेशलाई अस्वीकार गर्ने उनले चेतावनी समेत दिए ।

कविलासी नगरपालिकाका पुर्व मेयर कौशल किशोर रायले, इन्सेक सहितका मानव अधिकार संस्थाले सार्वजनिक गरेको प्रतिवेदनलाई बेवास्ता गर्दै सर्वोच्च अदालतको दृष्टिकोणले मधेशी जनताको संघर्षप्रति अन्याय भएको उनले आरोप लगाए ।

पुर्व मन्त्री यादवको नेतृत्वमा निकालिएको बृहत बिरोध प्रदर्शनमा हजारौं नेता तथा कार्यकर्ताहरुले सहभागिता जनाएका थिए । तुल-ब्यानर सहित सदरमुकाम मलंगवाको तिनबिघे मैदानबाट शुरु भएको बिरोध प्रदर्शन नगर परिक्रमा गरि पुन जिविस चोकमा रहेको शहिद पार्कमा कोणसभामा परिणत भएको थिए ।

सहभागीहरूले “मधेश जनविद्रोह हाम्रो पहिचान हो” “नस्लवादी सोच मुर्दावाद” जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । बिहिवार पनि सर्लाहीको बरहथवामा जसपाका नेता तथा कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका थिए । २०६३ साल चैत्र ७ गते गौरमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार