१७ वर्षीया किशोरीले जन्माइन् मृत जुम्ल्याहा शिशु

२०८२ भाद्र ६, शुक्रबार २१:०२

सर्लाही – हुम्लाको चङ्खेली गाउँपालिका–६ मेल्छामकी १७ वर्षीया सीता बुढाले मृत जुम्ल्याहा शिशु जन्माएकी छन्। मेल्छाम स्वास्थ्यचौकीका संयोजक हर्क बुढाका अनुसार बुढालाई सुत्केरी गराउन स्थानीय स्तरमा धेरै प्रयास गरिए पनि आवश्यक उपकरणको अभावले समस्या उत्पन्न भएको थियो।

व्यथाले छट्पटाइरहेकी सीतालाई जिल्ला अस्पतालसँगको समन्वयमा पिप्लाङ स्वास्थ्यचौकीमा पुर्याइएको थियो। त्यहाँ पनि समस्या समाधान नभए हेलिकोप्टरमार्फत सुर्खेत वा गाडीमा जिल्ला अस्पताल लैजाने तयारी गरिएको थियो। अन्ततः स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी गराउन सफल भए पनि जुम्ल्याहा शिशु मृतावस्थामै जन्मिएको संयोजक बुढाले जानकारी दिए।

सीता हाल हिमालय मावि मेल्छाममा कक्षा १० मा अध्ययनरत छिन्। उनको घर गाउँपालिका–३ मेखालामा भए पनि अध्ययनका क्रममा माइतीमै बस्दै आएकी थिइन्। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

कर्णालीका दुर्गम बस्तीका महिलाहरू अझै पनि सुत्केरी व्यथाका कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहँदै आएको छ। पछिल्ला वर्षमा सञ्चालन गरिएको राष्ट्रपति महिला उत्थान उद्धार कार्यक्रमले भने केही महिलाको जीवन बचाउन सहयोग पुगेको तथ्याङ्क देखिन्छ। स्वास्थ्यकर्मीहरूका अनुसार सानै उमेरमा विवाह र गर्भधारण गर्नु हुम्लाजस्ता दुर्गम क्षेत्रमा महिलाको मृत्यु दर बढ्ने मुख्य कारणमध्ये एक हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार