वीरगंजमा हैजा नियन्त्रणका लागि मुख्यमन्त्री सतिस कुमार सिंहको निर्देशन

२०८२ भाद्र ७, शनिबार १९:५४
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – पर्साको वीरगंजमा हैजा संक्रमण बढेपछि मधेश प्रदेश सरकारले नियन्त्रणका लागि आपतकालीन पहल गर्न मुख्यमन्त्री सतिश कुमार सिंहले निर्देशन दिएका छन्। मलेसिया भ्रमणमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार प्रदेश सरकारका निकायलाई तत्काल सक्रिय हुन निर्देशन दिएका हुन्।

मुख्यमन्त्री सिंहले स्वास्थ्य निर्देशनालय र स्थानीय स्वास्थ्य कार्यालयलाई संक्रमित क्षेत्रमा सतर्कतापूर्वक उपचार सेवा उपलब्ध गराउन आदेश दिएका छन्। उनले वीरगंजस्थित नारायणी अस्पतालसहित अन्य स्वास्थ्य संस्थालाई बिरामीको उपचारमा पूर्ण तत्पर रहन आग्रह गरेका छन्।

संक्रमण थप नफैलियोस् भनेर प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ। यसै क्रममा उपचार सेवा प्रभावकारी बनाउन मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई विशेष जिम्मेवारीसहित वीरगंज खटाइएको प्रदेश सरकारले जनाएको छ।

“म निजी भ्रमणमा मलेसियामा भए पनि वीरगंजमा देखिएको हैजा नियन्त्रणका लागि प्रदेश सरकारले सबै सम्भावित उपाय अवलम्बन गर्न निर्देशन दिएको छ,” मुख्यमन्त्री सिंहले भनेका छन्, “संक्रमण रोकथाम र उपचारमा कुनै कमी हुन नदिन आवश्यक व्यवस्थापन भइरहेका छन्।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार