कसरी लाग्छ हैजा ? हैजाबाट बच्ने उपाय के हुन् ?

२०८२ भाद्र ७, शनिबार २०:५५

सर्लाही – मनसुनमा छिनमै घाम लाग्ने र छिनमै वर्षा हुने हुन्छ । जसकारण, पानीका स्रोतहरू धेरै दूषित भएर हैजाको प्रकोप फैलने जोखिम रहन्छ । हैजाको मुख्य कारण दूषित पानी र अस्वस्थ खानपान हो ।

कसरी हुन्छ ?

भिब्रिओ कोलेरा नामक ब्याक्टेरिया मिसिएको पानी वा खाना खाँदा हैजा लाग्छ । यो ब्याक्टेरिया प्रायः फोहोर पानीको स्रोत, काँचो फलफूल, तरकारीलगायतमा भेटिन्छ । त्यसैले पानी शुद्धीकरण गरेर मात्र पिउनुपर्छ, फलफूल राम्ररी पखाल्नुपर्छ र राम्ररी पकाएर मात्रै खाना खानुपर्छ ।

यस ब्याक्टेरियाले उत्पादन गर्ने टक्सिनले सानो आन्द्रामा असर पुर्‍याउँछ र हैजा लाग्छ । मानिसको शरीरमा प्रवेश गरेपछि यस जीवाणु विकसित हुन एकदेखि दुई दिन लाग्छ । समयमै उपचार नगर्दा हैजाले गम्भीर बनाउन सक्छ र कतिपयको ज्यानै पनि जान्छ ।

लक्षण
– पखाला लाग्ने ।
– वाकवाकी लाग्ने, बान्ता हुने ।
– शरीरमा पानीको मात्रा कम हुने ।
– थकाइ लाग्ने ।
– मुख सुक्खा हुने ।
– पिसाब कम लाग्ने ।
– शरीर शिथिल हुने ।

कसरी बच्ने ?
– साबुनपानीले मिचिमिची हात धुने ।
– राम्ररी पाकेको खानेकुरा मात्र खाने ।
– ताजा खानेकुरा मात्र खाने । बासी, सडेगलेका खानेकुरा नखाने ।
– खानेकुरालाई फोहोरमैलाबाट सुरक्षित राख्ने ।
– तरकारी तथा फलफूल काँचै नखाने, राम्रोसँग पखालेर, पकाएर मात्र खाने ।
– पानी उमालेर अथवा शुद्धीकरण विधि प्रयोग गरेर मात्रै पिउने ।
– घरवरपर सफा राख्ने । फोहोरजन्य वस्तु उचित तरिकाले विसर्जन गर्ने ।
– पखाला लागिरहेमा पुनर्जलीय झोल बनाएर खाने ।
– स्तनपान गराइरहेको शिशुलाई पखाला लागेमा धेरैपटक स्तनपान गराउने ।
– अत्यधिक ज्वरो आउने, दिशामा रगत देखिने, दिनमा पाँचपटकभन्दा बढी पखाला लाग्नेजस्ता जटिल लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जानुपर्छ । – नयाँ पत्रिकाबाट साभार

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार