कविलासीमा पदाधिकारी सुविधाको चरम दुरुपयोग, प्रमुख र उपप्रमुखले इन्धनमै सकाए साँढे आठ लाख बढी

२०८२ भाद्र ९, सोमबार ०९:४४

मलंगवा – सर्लाहीको कविलासी नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले सुविधा र इन्धन खर्चमा कानुन उल्लङ्घन गरेको महालेखा परीक्षकको ६२औं प्रतिवेदनमा खुलासा भएको छ। प्रतिवेदनले उक्त खर्चमा पनि अनियमित भएको ठहर गरेको छ।

प्रतिवेदन अनुसार नगर प्रमुख ब्रहम देव राय र उपप्रमुख पुनम कर्णले मासिक १,५०० लिटर इन्धन पाउने व्यवस्था भए पनि पनि क्रमशः ७,३४० लिटर र २,३६१ लिटर इन्धन खर्च गरेका छन्। यसरी कुल ५,२०१ लिटर बढी इन्धन प्रयोग हुँदा ८,५८,१६५ रुपैयाँ अतिरिक्त भुक्तानी भएको छ।

प्रतिवेदनले यसलाई कानुन उल्लंघन र पारदर्शिताको कमीको उदाहरणको रूपमा देखाएको छ। ऐन अनुसार, पदाधिकारीले यातायात भत्ता पाउँदा इन्धन भुक्तानी पाउन नहुने स्पष्ट व्यवस्था छ र कुनै हालतमा दोहोरो सुविधा दिन नपाइने भनिएको छ। तर कविलासी नगरपालिकाले पदाधिकारीलाई यातायात भत्ता पाएको अवस्थामा पनि इन्धन भुक्तानी दिएको देखिएको छ।

प्रतिवेदनमा उल्लेख तथ्याङ्क:

पदाधिकारी तोकिएको वार्षिक ईन्धन खर्च भएको ईन्धन बढी प्रयोग बढी रकम (रु.)
नगर प्रमुख ब्रहम देव राय १,५०० लिटर ७,३४० लिटर ४,३४० लिटर ७,१६,१००
नगर उपप्रमुख पुनम कर्ण १,५०० लिटर २,३६१ लिटर ८६१ लिटर १,४२,०६५
जम्मा ५,२०१ लिटर ८,५८,१६५

महालेखा परीक्षकले यस घटनालाई स्थानीय तहमा खर्च व्यवस्थापन र पारदर्शिता सुनिश्चित गर्न सुधारात्मक कदम चाल्नुपर्ने उदाहरणको रूपमा उल्लेख गरेका छन्। यस्तो दोहोरो सुविधा र मनपरी इन्धन भुक्तानीले जनताको विश्वासमा असर पुर्याउने भएकाले सार्वजनिक जानकारी, लेखापरीक्षण, र निगरानी प्रणाली कडा गर्न आवश्यक छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार