तस्करीमा प्रहरीकै मिलेमतो: मधेशका ११३ प्रहरी कारबाहीमा

२०८२ भाद्र ९, सोमबार १६:१४

सर्लाही – मधेश प्रदेशमा प्रहरीकै मिलेमतोमा तस्करी धन्दा सञ्चालन भइरहेको उजागर भएपछि ठूलो संख्यामा प्रहरी कारबाहीमा परेका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रदेशका विभिन्न जिल्लामा कार्यरत ११३ प्रहरीलाई जिम्मेवारीमुक्त गरेको छ।

प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार कारबाहीमा परेकामध्ये धेरैजना सादा पोसाकमा खटाइएका ‘घुमुवा’ प्रहरी र गैरव्यावसायिक गतिविधिमा संलग्न कर्मचारी छन्। उनीहरूलाई तत्काल कार्यरत ठाउँबाट हटाएर अन्यत्र सरुवा गरिएको बताइएको छ।

‘जिम्मेवारीमुक्त हुने संख्या अहिले ११३ पुगेको छ,’ डिआइजी चतुर्वेदीले भने, ‘अझै पहिचान भइरहेको छ, संगठनमाथि दाग लगाउनेलाई बिनाछुट्टै कारबाही हुनेछ।’

सीमानाकामा तस्करी रोक्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, भन्सार र अनुसन्धान निकाय खटिएका भए पनि तस्करी नियन्त्रण नभई उल्टै प्रहरीको मिलेमतोमा कारोबार सहज भएको गुनासो बढ्दै आएको छ। विशेषगरी ‘घुमुवा’ प्रहरी तस्करहरूसँग मिलेर ‘लाइन मिलाउने’ र असुली गर्ने काममा संलग्न भएको आरोप विगतदेखि लाग्दै आएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार