सर्लाही – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदै छ । देवादिदेव महादेव र देवी पार्वतीको पूजा–आराधना गरी व्रत बस्ने परम्परा अनुसार महिलाहरू बिहानैदेखि मन्दिरमा दर्शन पूजामा व्यस्त भएका छन् । धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालयकी छोरी पार्वतीले कठोर तपस्या गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेकी थिइन् ।
पिता हिमालयले जबरजस्ती विष्णुसँग विवाह गर्न लागेपछि पार्वतीका साथीहरूले उनलाई लुकाएर शिवपूजामा बस्न सहयोग गरेका थिए । सोही दिनलाई स्मरण गर्दै भाद्र शुक्ल तृतीयादेखि हरितालिका व्रत बस्ने परम्परा सुरु भएको बताइन्छ । संस्कृतका ‘हरित’ (हरण गरिएको) र ‘आलिका’ (साथी) शब्द मिलेर बनेको ‘हरितालिका’ शब्दले यही प्रसङ्ग जनाउँछ ।

व्रत बस्दा पारिवारिक सुख शान्ति, अटल सौभाग्य, सन्तान र अविवाहित युवायुवतीका लागि योग्य जीवनसाथी प्राप्त हुने धार्मिक विश्वास छ । धर्मशास्त्रविद्हरूका अनुसार व्रत केवल महिलाकै लागि नभई पुरुषले पनि गर्न सक्ने र निराहार मात्र होइन जलाहार वा फलाहार गरेर पनि साधना गर्न सकिने व्यवस्था छ।
तीजको अघिल्लो दिन दर खाने चलन अनुसार सोमबार बेलुकी छोरी–चेलीले दाजुभाइ र माइतीतर्फ दर खाएर आजको व्रतका लागि तयारी गरेका थिए । शास्त्रअनुसार दर दुई भाग रात नाघ्नुअघि नै खानुपर्ने मान्यता छ ।
पर्वको अवसरमा महिलाले वर्षभरि भोगेका दुःख पीर गीतमार्फत पोख्ने गर्छन् । तर पछिल्ला वर्षमा तडकभडक, गरगहना प्रदर्शन र महिनौँ अघिदेखि दर खाने प्रवृत्तिले तीजको मौलिक संस्कृतिलाई विकृत बनाइरहेको भन्दै संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् । दर खाएपछि सुरु भएको तीज पर्व भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमीका दिन सप्तऋषि र अरुन्धतीको पूजा आराधनासहित सम्पन्न हुनेछ ।





