सर्लाही – राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, असहाय, अशक्त तथा ९० वर्षमाथिका जेष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने बताएको छ।
हाल विभिन्न स्थानीय तह र सेवा प्रदायक निकायहरूले यी वर्गका व्यक्तिहरूसँग पनि राष्ट्रिय परिचयपत्र वा परिचय नम्बर माग्दै आएका गुनासा बढेपछि विभागले विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो।

विभागका अनुसार बालबालिका, आफैं हेरचाह गर्न नसक्ने अवस्था भएका अशक्त तथा असहाय व्यक्ति र ९० वर्ष पार गरेका जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र नभए पनि आवश्यक सेवा लिन कुनै बाधा नहुने बताईएको छ।
यस अघि सरकारले २०८१ असार १० गते नेपाल राजपत्रमार्फत विभिन्न सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्र वा परिचय नम्बर अनिवार्य गरेको थियो।
सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, निवृत्तिभरण, राजश्व (व्यक्तिगत आयकर दर्ता), सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरण, बैंकिङ र वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष तथा घरजग्गा किनबेच जस्ता सेवामा परिचयपत्र अनिवार्य व्यवस्था लागू गरिएको हो।
तर, विभागले स्पष्ट पारेको छ, उल्लेखित सेवाहरू लिन जाँदा बालबालिका, अशक्त वा ९० वर्षमाथिका जेष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र वा नम्बर अनिवार्य रूपमा देखाउनुपर्ने छैन।





