सर्लाही – सर्लाही जिल्लामा अब अर्को इलाका प्रशासन कार्यालय थपिने भएको छ। सरकारले सेवा प्रवाहलाई अझ सहज र प्रभावकारी बनाउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाउने निर्णय गरेको छ। त्यसअनुसार सर्लाहीको बलरामा नयाँ कार्यालय स्थापना गरिनेछ।

गृह मन्त्रालयका अनुसार जनसंख्या, भौगोलिक दुर्गमता र पहुँचमा देखिएका असमानतालाई समाधान गर्न देशभर एकै पटक ठूलो संख्यामा इलाका प्रशासन कार्यालय खोल्ने प्रक्रिया अघि बढाइएको हो। प्रशासन समितिले छलफल सकाएपछि निर्णय कार्यान्वयन चरणमा जानेछ।
हाल जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत सेवा दिइँदै आएको भए पनि केही स्थानमा सेवाग्राहीलाई लामो दूरी धाउनुपर्ने अवस्था थियो। नयाँ कार्यालय थपिएपछि सेवाग्राहीले छिटो र नजिकैबाट प्रशासनिक सुविधा पाउने अपेक्षा गरिएको छ।





