मधेश ट्राफिकका एसपीमाथि आर्थिक अनियमितताको आरोप, छानबिन गर्न बनाइयो ५ समिति

२०८२ भाद्र १०, मंगलवार १७:३१

सर्लाही – बाराको पथलैयास्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राज कुमार सिलवालमाथि आर्थिक अनियमितताको गम्भीर आरोप लागेपछि मधेश प्रदेश प्रहरीले आन्तरिक छानबिन सुरु गरेको छ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा चर्तुवेदीका अनुसार दर्ता भएका ३५ वटा उजुरीका आधारमा पाँच वटा छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको छ। ती समितीमध्ये एसएसपी कमल थापा, एसएसपी भीम दाहाललगायत अधिकारीलाई जिम्मेवारी दिइएको छ।

सिलवालमाथि मापसेमा पक्राउ परेका चालकलाई जरिवाना तिरेपछि पनि नछोड्ने, चालकसँग रकम असुलेर रातभर नियन्त्रणमा राख्ने, चोरीका सवारी भन्सारमा बुझाउनुपर्नेमा आफूखुसी प्रयोग गर्ने, तथा ट्रान्सपोर्टका ट्रकलाई नियन्त्रणमा लिएर रकम असुलेर छाड्ने जस्ता आरोप लगाइएको छ।

गत साउन ११ गते मात्रै सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रक पथलैया चेकपोस्टमा नियन्त्रणमा लिएर ८ लाख रुपैयाँ असुलेर छाडेको उजुरी दर्ता भएको प्रहरी स्रोतको दाबी छ। छानबिन समितिलाई लिखित जवाफ पेस गर्न समय तोकिएको र अनुसन्धान जारी रहेको डीआईजी चर्तुवेदीले बताए।

“छानबिन सुरु भएको छ, अहिलेसम्म विस्तृत विवरण सार्वजनिक गर्ने अवस्था छैन,” उनले भने।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार