सर्लाही – लामो समयदेखि अनुदान रकम नपाएर आन्दोलनरत उखु किसानलाई सरकारले रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले बुधबार ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ अनुदानका लागि उपलब्ध गराएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उक्त रकम जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक खातामा पर्सिसम्म जम्मा हुनेछ।

यसअघि मन्त्रिपरिषद्ले प्रति क्विन्टल ३५ रुपैयाँका दरले किसानलाई अनुदान दिने निर्णय गरे पनि प्राविधिक कारण देखाउँदै अर्थ मन्त्रालयले रकम निकासामा ढिलाइ गरेको थियो। रकम नपाएपछि किसानले काठमाडौं केन्द्रित आन्दोलन चर्काएका थिए।
सरकारले अघिल्ला वर्षमा प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहनस्वरूप उपलब्ध गराउँदै आएकोमा यस वर्ष मुलुकको आर्थिक अवस्था र आवश्यकता हेरी ३५ रुपैयाँ मात्र दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।
यसैबीच, काठमाडौंमा किसान र मन्त्रालयबीच वार्ता भएको छ। सिंहदरबारस्थित कृषि मन्त्रालयमा भएको वार्तामा मन्त्रालयतर्फबाट उपमहानिर्देशक ललन कुमार सिंह, उपसचिवहरू लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल, उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी भए।
किसानतर्फ श्यामबाबु रायसहितका प्रतिनिधिहरू उपस्थित थिए। कृषि मन्त्री रामनाथ अधिकारीले वार्ता सहज बनाउन सिंहको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेका थिए।





