सर्लाही – विघ्नहर्ता भगवान् गणेशको जन्मजयन्तीका अवसरमा आज देशभर गणेश चतुर्थी पर्व श्रद्धा र भक्तिभावसहित मनाइँदैछ।
भाद्र शुक्ल चतुर्थीका दिन पर्ने यो पर्वलाई विशेष पूजा आराधना गरेर मनाउने परम्परा छ। शिवपार्वतीका पुत्र गणेशलाई अग्रपूजाको अधिकार प्राप्त भएकाले आज देशभरका विभिन्न मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

धर्मशास्त्र अनुसार हरितालिका तीजको पारायणपछि मध्याह्नमा गणेशपूजा गर्ने विधान छ। नेवार समुदायले यस दिन बालबालिकामाझ ‘छुस्यामुस्या’ बाँड्ने परम्परा निर्वाह गर्दै आएका छन्।
वि.सं. २०६५ देखि राजधानीलगायतका सहरहरूमा चतुर्थीको भोलिपल्ट गणेश रथयात्रा निकाल्ने चलन सुरु भएको हो। यसैगरी, वि.सं. २०६४ मा राष्ट्रिय धर्मसभा स्थापना भएको दिन पनि आजकै दिन भएकाले यसलाई स्थापना दिवसका रूपमा समेत मनाइन्छ।





