सर्लाही – भारतको बिहारमा एक मन्त्री स्थानीयवासीको आक्रमणको शिकार बनेका छन्। बुधबार बिहान नालन्दा जिल्लाको हिल्सा थानाअन्तर्गत पर्ने मलावन गाउँमा पुगेका राज्यका मन्त्री श्रवण कुमारमाथि गाउँलेले ढुंगामुढा गर्दै लखेटेपछि उनले करिब एक किलोमिटर दौडेर ज्यान जोगाउनु परेको भारतीय सञ्चारमाध्यम जागरणले जनाएको छ।
तीन दिनअघि भएको सवारी दुर्घटनामा त्यही गाउँका नौ जनाको ज्यान गएको थियो। मृतक परिवारलाई भेटेर सान्त्वना दिन मन्त्री कुमारसहित स्थानीय विधायक घटनास्थल पुगेका थिए। परिवार भेटिसकेपछि फर्किन लाग्दा गाउँलेहरूले अझै बस्न आग्रह गरे पनि मन्त्रीले अन्य कार्यक्रममा जानुपर्ने कारण देखाउँदै फर्किन खोजे।

सो क्रममा पीडित परिवारका सदस्यले क्षतिपूर्ति र न्यायको माग गर्दै आवाज उठाए। गाउँलेहरू आक्रोशित बन्दै मन्त्री, विधायक र उनीसँगै रहेका टोलीमाथि ढुंगामुढा सुरु गरे। आक्रमणमा मन्त्रीका अंगरक्षकसहित केही व्यक्ति घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनापछि गाउँमा तनाव बढेको बताइएको छ।





