प्रिन्सिपलद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

२०८२ भाद्र ११, बुधबार २०:०३

सर्लाही – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलमा प्रिन्सिपलले आफ्नै विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

कक्षा ५ मा अध्ययनरत १२ वर्षीय रञ्जित राउतलाई प्रिन्सिपल अजितकुमार चौधरीले सोमबार कार्यकक्षमै लगेर निर्घात कुटपिट गरेको पीडितका पिता जितबहादुर राउतले बताए। घर फर्किएपछि बालकले सुरुमा घटना लुकाए पनि राति असाध्यै पीडामा सुत्न नसकेपछि आमाबाबुले शरीर जाँच्दा दुवै तिघ्रामा निलडाम र घाँटीमा चोट देखिएको थियो।

मंगलबार चरिकोटस्थित च्छो रोल्पा अस्पतालमा गरिएको परीक्षणमा शरीरका विभिन्न भागमा रगत जमेको र मासु च्यातिएको रिपोर्ट आएको परिवारले जनाएको छ। अहिले समेत बालकलाई हिँडडुल गर्न कठिन भइरहेको पिताको भनाइ छ।

पीडित पक्षका अनुसार सोमबार विद्यालयमा तीज विशेष कार्यक्रम चलिरहेका बेला केही विद्यार्थी खेल्दै गर्दा प्रिन्सिपल चौधरीकी छोरीलाई ढुङ्गा जस्तो वस्तु लाग्यो। त्यसमा रञ्जितको संलग्नता रहेको भन्दै प्रिन्सिपलले उनलाई कार्यकक्षमा बोलाएर काठको भाटोले कुटपिट गरेका हुन्।

आरोपबारे प्रिन्सिपल चौधरीले पनि कुटपिट गरेको स्वीकार गरेका छन्। ‘विद्यार्थीहरू खेल्दै गर्दा मेरी छोरीलाई चोट लाग्यो। अरुले रञ्जितले हानेको भने तर उसले स्वीकारेन। ढाँटेकोमा आक्रोशित भइँ र कुटियो,’ उनले भने। चौधरीले घटना नियतवश नभई आवेशमा भएको भन्दै गल्ती स्वीकारेका छन्। ‘अबदेखि कहिल्यै नपिट्ने, विद्यालयलाई बालमैत्री बनाउन प्रतिबद्ध हुन्छु,’ उनले थपे।

यस घटनाबारे पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दर्ता गरिसकेको छ। प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोका अनुसार उजुरीपछि दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ। ‘सत्यतथ्य बुझेर पीडित पक्षको मागअनुसार कानुन बमोजिम कारबाही हुन्छ,’ महतोले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार