सर्लाही – हैजाको चुनौती सामना गरिरहेको वीरगंजमा जापानिज इन्सेफलाइटिस (जेई) को संक्रमण पनि पुष्टि भएको छ। पर्सा जिल्लामा अहिलेसम्म २५ वटा शंकास्पद केस भेटिएका मध्ये २ जनामा संक्रमण पुष्टि भएको र तीमध्ये एक जना बिरामी वीरगंज महानगरपालिका–५ का रहेको महानगरले जनाएको छ।
संक्रमण बढ्न नदिन महानगरले विशेष सतर्कता अपनाउन किसानलाई अनुरोध गरेको छ। विशेषगरी सुँगुर तथा बंगुरपालकलाई अनावश्यक ओसारपसार नगर्न, रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा तत्काल महानगरको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।

डेंगु, मलेरिया, इन्सेफलाइटिसजस्ता रोग फैलाउने लामखुट्टे नियन्त्रणका लागि महानगरले ३२ वटै वडामा औषधि छर्कने अभियान सुरु गरेको छ। सरसफाइ संयोजक जयप्रकाश खेतानको नेतृत्वमा ५ वटा गाडी र २० प्राविधिक परिचालन गरेर नाला, पोखरी तथा भण्डारणस्थलमा औषधि छर्कने काम भइरहेको छ।
यस्तै, महानगरले गोठ वरिपरि सफा राख्न, पानी जम्न नदिन, खेत वा गोठ जानेबेला पूरा शरीर ढाक्ने लुगा लगाउन र सबै परिवार सदस्यलाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाउन आग्रह गरेको छ।





