सर्लाही – सर्लाहीको सखुवा सीमा नाकामा रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीमाथि कारबाही गरी छानबिन सुरु गरिएको छ।
भिडियोमा देखिएका सशस्त्र प्रहरी सई लेखराज विष्ट र हवल्दार सुमन चौधरीलाई तत्काल प्रभावबाट जिम्मेवारी खोसिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। उनका अनुसार सई विष्टलाई छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबासमा तानिएको छ भने हवल्दार चौधरीलाई नं. १० गण, सर्लाहीमा राखेर छानबिन अघि बढाइएको छ।

भदौ ८ गते रातिको भिडियोमा उनीहरूले भारतीय तस्करलाई ‘लाइन मिलाइदिएको’ भन्दै २२ रुपैयाँ असुल गरेको दृश्य देखिन्छ। सो दृश्य बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विषय चर्किएको हो। सशस्त्र प्रहरी बलले यस प्रकरणलाई गम्भीर रुपमा लिँदै आन्तरिक छानबिन अघि बढाएको जनाएको छ।





