सर्लाही – मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) लाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको निर्णय सदर गरेको हो।
यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले साउन १४ गते अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। सोही आदेशअनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो।

अहिराजले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावलोकन माग गर्दै निवेदन दिएका थिए। तर, उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई नै टेकेर थुनामा पठाउने आदेश सदर गरेको हो।
अहिराजविरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता गरिएको छ। पीडित महिलाले २०८१ जेठ ४ गते काठमाडौंको नयाँबानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
सो उजुरीका आधारमा उनलाई साउन ४ गते पक्राउ गरिएको थियो। पक्राउ परेको ९ दिनमै प्रहरी अनुसन्धान प्रतिवेदनसहित सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।





