सर्लाही – सरकारले अनुदानमा आयात गरेर किसानलाई वितरण गर्नुपर्ने रासायनिक मल उदयपुरमा कालो बजारीमा परेको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले कटारी बजारका दुई निजी व्यापारीको गोदामबाट दुई सय बोरा युरिया मल बरामद गरेको हो ।
कटारी नगरपालिकाकी उपमेयर गीता खड्काका अनुसार शुक्रबार गरिएको अनुगमनका क्रममा अशुतोष ट्रेडर्स तथा जनरल स्टोर र जयमाँकाली प्रालिको गोदामभित्र मल लुकाइएको अवस्थामा भेटिएको हो । उनले भनिन्, “यो मल कहाँबाट आइपुग्यो भन्ने कुरा प्रष्ट छैन, तर सरकारी अनुदानकै मल भएको पुष्टि भएको छ । छानबिन समिति बनाएर अनुसन्धान अघि बढाइनेछ ।”

सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेले मललाई अन्य उपभोग्य सामानले छोपेर राखिएको अवस्थामा भेटिएको जानकारी दिए । “सबै बोरा अनुदानकै मल हुन् । तर निजी व्यापारीको गोदाममा कसरी पुग्यो भन्ने अझै अज्ञात छ,” पाण्डेले बताए । गोदामलाई सिलबन्दी गरी थप छानबिनको जिम्मेवारी नगरपालिकालाई दिइएको छ ।
कृषि सामग्री लिमिटेड, गाईघाट शाखा प्रमुख नरेशकुमार महतोका अनुसार सरकारले किसानलाई दिने ५० किलोको एक बोरा युरिया मलको मूल्य ८३३ रुपैयाँ मात्रै हो । तर कटारी बजारमा भने यही मल १८ सयदेखि २४ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको खुलेको छ । “म आएको एक महिना मात्र भएको छ, यसअघि कसरी वितरण भयो भन्ने कुरा मसँग स्पष्ट छैन ।
तर, मल नपाएका किसानका बीचै दुई सय बोरा व्यापारीको गोदाममा भेटिनु रहस्यमय कुरा हो,” उनले भने । गोदाम सञ्चालक दिलीप चौधरीले भने मल आफूले ल्याएको नभई अरू कसैले राखेको हुनसक्ने दाबी गरेका छन् । तर प्रशासनले भने घटनालाई गम्भीर मान्दै छानबिन अघि बढाएको छ ।
कटारीका किसानले पनि अनुदानको मल पाउन कठिनाइ भएको गुनासो गरेका छन् । उदयपुरगढी–१ का किसान मनोज खत्रीले ५० किलोको एक बोरा युरिया १,९५० रुपैयाँमा खरिद गर्नुपरेको बताए । “सहकारीमा मल नै पाइएन, अन्ततः कटारीमा गोप्य रूपमा महँगोमा किन्नुपर्यो,” उनले भने ।
उदयपुरमा वार्षिक पाँच हजार टनभन्दा बढी रासायनिक मल आवश्यक पर्छ । तर मागको आधा मात्र आपूर्ति हुने गरेको कृषि सामग्री लिमिटेडले जनाएको छ । चालु आर्थिक वर्ष ०८२/८३ मा मात्रै तीन हजार टन युरिया माग गरिएको भए पनि हालसम्म डिएपीका एक सय बोरा मात्रै आएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।





