यस्तो छ ३२औँ आईजीपी नियुक्त चन्द्रकुबेर खापुङको पृष्ठभूमि

२०८२ भाद्र १३, शुक्रबार १४:०६

सर्लाही – नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ । सरकारले शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी चन्द्रकुबेर खापुङलाई ३२औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो ।

बहालवाला आईजीपी दीपक थापाको सेवा अवधि सकिन अझै एक साता बाँकी छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई मध्यनजर गर्दै सरकारले अघिबाटै नयाँ आईजीपी घोषणा गरेको हो ।

यसपटक आईजीपी नियुक्ति प्रक्रिया निकै सहज रह्यो । कारण थियो, खापुङ नै एक मात्र दाबेदार बनेका थिए । उनका ब्याचका अर्का एआईजी कृष्णहरि शर्मा ५६ वर्षे उमेरहदका कारण भदौ १५ मा अवकाशमा जाने भएपछि प्रतिस्पर्धा शून्य भयो ।

खापुङ ०५१ साल कात्तिक २६ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)का रूपमा सेवामा प्रवेश गरेका थिए । उनका वरिष्ठ दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी भदौ १९ बाट ३० वर्षे सेवाहदका कारण अवकाशमा जाने भएपछि उनी स्वाभाविक रूपमा संगठनको सर्वोच्च पदमा पुगेका हुन् ।

तर उनको कार्यकाल भने अत्यन्त छोटो हुनेछ । नियमअनुसार उनले आउँदो कात्तिक २६ गते ३० वर्षे सेवा पूरा गर्नेछन् । यसरी खापुङ नेपालको प्रहरी इतिहासमै सबैभन्दा छोटो कार्यकालका आईजीपी हुने निश्चित भएको छ ।

खापुङको करियर अपेक्षाकृत विवादमुक्त रह्यो । उनले उपत्यका अपराध अनुसन्धान कार्यालय, कोशी प्रदेश प्रहरी लगायत विभिन्न जिम्मेवारी सम्हालेका थिए । हाल सीआईबी प्रमुखका रूपमा काम गर्दा पनि उनी कुनै ठूलो विवादमा परेनन् ।

शान्त र व्यवस्थित अधिकारीका रूपमा उनको छवि रहेको छ । तेह्रथुमको मोहामा जन्मिएका खापुङ ६ दाजुभाइमध्ये साहिँला हुन् । उनकी पत्नी भावना श्रेष्ठ पनि प्रहरी सेवामा थिइन् र डीएसपी पदबाट अवकाश पाएकी हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार