सर्लाही – सर्लाहीको बागमती नगरपालिका – १ का ३२ वर्षीय लालबहादुर घिसिङ फेरि पनि चोरी प्रकरणमा पक्राउ परेका छन्। करिब दुई साता अघि मात्रै कारागारमुक्त भएका उनी काठमाडौंको गौशालाबाट मोटरसाइकल चोरी गर्ने क्रममा प्रहरीको फन्दामा परेका हुन्।
प्रहरीका अनुसार घिसिङले प्रविण तामाङको नाममा दर्ता भएको प्रदेश ३ – ०१२ प ४७७ नम्बरको आर – १५ मोटरसाइकल चोरी गर्न खोज्दा नियन्त्रणमा लिइएको हो। उनको साथबाट मोटरसाइकलको चाबी फुटाउने उपकरण (टी) समेत बरामद गरिएको छ।

घिसिङविरुद्ध चोरी, डाँका र ठगीसम्बन्धी आधा दर्जनभन्दा बढी मुद्दा अदालतमा विचाराधीन छन्। उनी यसअघि २०७९ वैशाखमा रौतहट २०७९ भदौमा सर्लाही, २०८० भदौमा बानेश्वर, २०८० चैतमा काभ्रे, २०८१ वैशाखमा भक्तपुर र २०८१ असोजमा डलर ठगी प्रकरणमा संलग्न भइसकेका थिए।
२०८१ कात्तिकमा स्वयम्भूबाट ठगी आरोपमा पक्राउ परेका घिसिङ हालै मात्र, २०८२ साउन २६ गते कारागारबाट छुटेका थिए। तर १५ दिनमै पुनः चोरीमा संलग्न भएको प्रहरीले जनाएको छ। हाल उनलाई थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।





