अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने उखु किसानको चेतावनी

२०८२ भाद्र १४, शनिबार १७:२६
file image

सर्लाही – अघिल्लो आर्थिक वर्षको उखु अनुदान भुक्तानीमा ढिलाइ भएको भन्दै आन्दोलनरत किसानले भदौ २५ देखि अनिश्चितकालीन रूपमा राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

शनिबार (भदौ १४) माइतीघर, काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसानहरूले आफ्नो माग सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। उखु उत्पादक महासंघ नेपालका प्रवक्ता उमेशचन्द्र यादवले सर्वसम्मत निर्णयअनुसार सबै जिल्लाका किसानको सक्रिय सहभागितामा सर्लाहीको हरिवनबाट आन्दोलन सुरु हुने जानकारी दिएका छन्।

किसानहरूले उपलब्ध गराउन बाँकी अनुदान रकम विनासर्त भुक्तानी, उखुको मूल्य निर्धारणमा किसान प्रतिनिधिको सहभागिता सुनिश्चित गर्नुपर्ने, लगायतका माग राखेका छन्। यस आन्दोलनका कारण हुन सक्ने सम्भावित क्षतिको जिम्मा सरकारले लिनुपर्ने उनीहरूको जोड छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार