सर्लाही – धनुषाको जनकपुर उपमहानगरपालिका–२०, झण्डा चोकमा शनिबार दिउँसो हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ। यस क्रममा एक स्थानीय घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार दिउँसो करिब २ः२० बजे गणेशको मूर्ति विसर्जनको तयारी भइरहेकै समयमा करिब २५०–३०० जना हिन्दु पक्ष र ५०–६० जना मुस्लिम पक्षबीच विवाद शुरु भएको थियो। विवाद चर्किंदै गएपछि ढुङ्गा-मुढा समेत चलेको र एक जना घाइते भएको प्रहरीले जनाएको छ।

घटना नियन्त्रणमा लिन नेपाल प्रहरीले तत्काल अतिरिक्त फोर्स खटाएको थियो। साथै, सशस्त्र प्रहरीले दुई राउन्ड ग्याँस सेल प्रहार गरेको जनाइएको छ। सीमा सुरक्षा गुल्म जटहीबाट ७० जना सशस्त्र प्रहरीसहित संयुक्त टोली समेत घटनास्थलमा पुगेको थियो।
प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिले केहीबेरमै अवस्था नियन्त्रणमा आएको भए पनि स्थानीय प्रशासनले थप सुरक्षा कडा बनाएको छ। प्रहरीले दुवै पक्षलाई शान्त रहन आग्रह गरेको छ भने घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।
स्थानीयवासीहरूले भने घटनापछि डर र असुरक्षाको महसुस गरेको बताएका छन्। प्रशासनले आगामी दिनमा यस्ता विवादलाई रोक्न अग्रिम सतर्कता अपनाउने जनाएको छ।





