परीक्षा टार्न बमको हल्ला फैलाउने महोत्तरीका एक युवक पक्राउ

२०८२ भाद्र १५, आईतवार १८:०१

सर्लाही – परीक्षाको अल्छीले बम राखेको हल्ला फैलाउने एक युवक प्रहरीको फन्दामा परेका छन्। महोत्तरी गाउँपालिका – २ स्थायी घर भई हाल कीर्तिपुर–१० बस्ने जयरुद्र झालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको जनाएको छ।

प्रहरी प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार झाले भदौ १३ गते दिउँसो प्रहरी कन्ट्रोल १०० नम्बरमा फोन गरी काठमाडौंका विभिन्न विद्यालय र कलेजमा बम राखिएको, बेलुकी ४ बजेसम्म पड्किने भन्दै झुट्टा खबर दिएका थिए। तर, प्रहरीले बताएअनुसार उनले भनेका ठाउँमा कतै बम फेला परेन, कुनै विष्फोट पनि भएन।

कुलेश्वरस्थित जनमैत्री माविमा सञ्चालित स्नातकोत्तर तहको परीक्षा केन्द्रमा समेत बम राखिएको भनेर उनले फोनमा उल्लेख गरेका थिए। तर अनुसन्धानमा उनले नै त्यहीँ परीक्षा दिने विद्यार्थी भएको खुल्न आएको छ।

परीक्षामा तयारी अपुरो भएकै कारण परीक्षा रोक्नका लागि यस्तो झुट्टा हल्ला फैलाएको झाले प्रहरीसमक्ष बयान दिएका छन्। उनी पेशाले सेरामिक्स टायल्सको बैंक प्रतिनिधि पनि भएको बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार