सर्लाही — खानेपानी मन्त्री प्रदीप यादवसँग चर्को स्वरमा कुरा गरेको आरोपमा पक्राउ परेकी टिकटकर किरण साहविरुद्ध प्रहरीले तीन वटा मुद्दा दर्ता गरेको छ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहको जाहेरीका आधारमा किरण साहमाथि विद्युतीय कारोबारसम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको कसुर र अफवाह फैलाएको अभियोग लगाइएको हो।

यी तीनै मुद्दामा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। शनिबारदेखि प्रहरी हिरासतमा रहेकी साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी अनुसन्धान भइरहेको छ।
शुक्रबार राति सामाजिक सञ्जालमा भाइरल बनेको अडियोमार्फत् यो विवाद सतहमा आएको हो। उक्त अडियोमा साहले वीरगञ्जमा देखिएको हैजा संकटबारे मन्त्री यादवसँग आक्रोशपूर्वक प्रश्न गरेकी थिइन्।
बारम्बार फोन गर्दा पनि प्रतिक्रिया नपाएको असन्तुष्टि व्यक्त गर्दै उनले मन्त्रीसँग कुरा लागेपछि पानी वितरणमा देखिएको लापरबाही, हैजाका कारण मृत्यु भएका घटनाहरू र आफ्नै परिवारका सदस्य आईसीयूमा पुगेको अवस्थाबारे कठोर शैलीमा प्रश्न सोध्नुभएको थियो।
अडियोमा उनले मन्त्रीलाई धम्कीको शैलीमा भनेकी छन् “म तपाईंलाई छोड्दिनँ, डर लाग्दैन।”





