सर्लाही – यस वर्षको पहिलो चन्द्रग्रहण यही भदौ २२ गते आइतबार लाग्दै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सो दिन भाद्र शुक्ल पूर्णिमामा खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्नेछ ।
समितिले स्वीकृति दिएको पात्रो अनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा सुरु भई राति ११ बजेर ५६ मिनेटमा मध्य भागमा पुग्नेछ । ग्रहण राति १ बजेर ४१ मिनेटमा सकिने जनाइएको छ । यस अवधिमा करिब साढे तीन घण्टा काठमाडौँबाट समेत स्पष्ट रूपमा चन्द्रग्रहण अवलोकन गर्न सकिनेछ ।

समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, यसअघि २०८२ सालमा अहिलेसम्म कुनै ग्रहण लागेको थिएन । यही वर्ष अर्को पटक फाल्गुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण पनि लाग्नेछ ।
शास्त्रीय मान्यताअनुसार ग्रहणको समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अरुले भोजन नगर्नुपर्ने प्रचलन छ । यही कारण भदौ २२ गते आइतबार दिउँसो १ बजेर ११ मिनेटपछि भोजन निषेध हुने समितिले जनाएको छ । शास्त्रमा उल्लेख भएअनुसार चन्द्रग्रहण सधैं पूर्णिमा तिथिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।





