सर्लाही – गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाबारे सरकारले विशेष ध्यान दिएको बताएका छन्। सोमबार पर्सामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सीमा क्षेत्रमा अपराध नियन्त्रण तथा सुरक्षा मजबुत बनाउन सरकारले सशस्त्र प्रहरी बललाई सक्रिय रूपमा परिचालन गरेको स्पष्ट पारे।
उनका अनुसार ठाउँ ठाउँमा देखिने अवैध गतिविधि नियन्त्रणका लागि सरकारले गहन रूपमा काम गरिरहेको छ। “सीमा सुरक्षाबारे हामी पूर्ण रूपमा गम्भीर छौँ। अपराधजन्य कार्य रोकथाममा सशस्त्र प्रहरी बल, नेपाल निरन्तर सक्रिय छ,” उनले भने।

पत्रकारको प्रश्नमा उनले नेपाल कुनै पनि मुलुकको सैन्य रणनीतिमा सामेल नभएको प्रष्ट्याए। “हामी सबैका मित्र हौँ, कसैसँग शत्रुभाव छैन। नेपाल कुनै देशको सैन्य रणनीतिमा सामेल भएको छैन,” उनले थपे। गृहमन्त्री लेखकले अपराधजन्य गतिविधि नियन्त्रणमा सरकार निरपेक्ष र निष्पक्ष रूपमा अघि बढिरहेको समेत दोहोर्याए।





