भारत–रुस सधैँ काँधमा काँध मिलाएर उभिएका छन् : मोदी

२०८२ भाद्र १६, सोमबार १९:५३

जनकपुर – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रेमलिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा भारत–रुस सम्बन्धलाई विशेष र विश्वासयोग्य साझेदारीको रूपमा व्याख्या गर्दै भने कि कठिन परिस्थितिमा पनि दुवै देश सधैं काँधमा काँध मिलाएर उभिन्छन्।

प्रधानमन्त्री मोदीले भारत – रुस सहकार्यले न केवल दुवै देशका लागि, तर विश्व शान्ति, स्थिरता र समृद्धिमा पनि योगदान पुर्‍याउने बताए। “सबैभन्दा चुनौतीपूर्ण समयमा पनि हाम्रो मित्रता अडिग छ। हाम्रो सहयोगले दुवै देशका जनतासँगै विश्वव्यापी शान्ति र स्थिरतामा भूमिका खेल्छ,” उनले भने।

यो भेटवार्ता अमेरिका – भारतबीचको व्यापार तनाव र रुससँगको इन्धन कारोबार विवादको पृष्ठभूमिमा भएको हो। अमेरिका भारतीय वस्तुमा कर बढाएको छ भने, रुसबाट किनेको तेलमा भारतले जरिवाना तिर्नुपर्ने अवस्था आएको छ।

युक्रेन युद्धबारे मोदीले शान्तिप्रतिको समर्थन व्यक्त गर्दै भने, “द्वन्द्व सकेसम्म चाँडो अन्त्य गरी स्थायी शान्ति कायम गर्नुपर्छ। यो सम्पूर्ण मानवताको साझा चुनौती हो।” उनले हालै भएका शान्ति पहलहरू सकारात्मक रहेको भन्दै सबै पक्षले रचनात्मक रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री मोदीले भारत–रुस सम्बन्ध अझ नजिक बनाउन प्रतिबद्धता जनाउँदै डिसेम्बरमा हुने २३औँ शिखर सम्मेलनलाई महत्वपूर्ण भने। “एक अर्ब ४० करोड भारतीयहरूले तपाईंको भ्रमणको प्रतीक्षा गरिरहेका छन्,” उनले पुटिनलाई सम्बोधन गर्दै भने। राष्ट्रपति पुटिनले पनि भारत र चीनले युक्रेन संकटमा देखाएको शान्तिप्रेमी पहलको प्रशंसा गरे। उनले युक्रेनमा युद्धको कारण पश्चिमी सहयोगीहरूको समर्थनमा भएको ‘कू’ भएको दाबी गरे।

यसैबीच, चीनका राष्ट्रपति सी जिनपिङले एससीओ शिखर सम्मेलनमा बहुध्रुवीय विश्व व्यवस्था, निष्पक्षता र न्यायको पक्षमा आवाज उठाउँदै शीतयुद्ध मानसिकताको अन्त्यको माग गरे। “हामीले इतिहासलाई सही दृष्टिले बुझ्नुपर्छ र टकराव रोक्नुपर्छ,” उनले भने। शाङ्घाई सहयोग संगठन (एससीओ) २०२५ को शिखर सम्मेलनले विश्व राजनीतिमा बहुध्रुवीयता र शक्ति सन्तुलनको नयाँ चरण सुरु भएको सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार