महोत्तरीको सीमा क्षेत्रमा बाँध बनाउँदै भारत, डुबानको जोखिममा नेपाली बस्ती

२०८२ भाद्र १७, मंगलवार १७:२२

सर्लाही – महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुर नजिकै भारतले मरहा नदीमा बाँध निर्माणको प्रक्रिया अगाडि बढाएपछि नेपाली बस्ती डुबानको खतरा बढेको छ।

भारतको सीतामढी जिल्लाको कन्हमा ग्राम पञ्चायत – ८ भगवतीपुरतर्फबाट मरहा नदीमा आउने बाढी नियन्त्रण गरी धान सिँचाइ गर्ने उद्देश्यले भारतीय पक्षले बाँधसहित करिब दुई किलोमिटर लामो कुलो बनाउन थालेको हो। यसका कारण नेपालतर्फको रघुनाथपुरलगायत बस्ती डुबानमा पर्ने स्थानीयले बताएका छन्।

नेपाली पक्षको विरोध हुँदाहुँदै भारतीय सरपञ्च गिरेन्द्रकुमार सिंहको अगुवाइमा डोजर, ट्र्याक्टर र कोदालो लिएर स्थानीयले बाँध राख्न आएका थिए। मरहा नदीको पानी रोक्न १० फिटभन्दा अग्लो बाँध बनाएर दशगजा क्षेत्रमा कुलोमार्फत पानी मोड्ने तयारी भएको सीमावर्ती बासिन्दाको भनाइ छ।

सोमबार भारतीय अधिकारी र सुरक्षा निकायका प्रतिनिधि नापजाँचका लागि आएर दशगजा क्षेत्रमा डोजर प्रयोग गरी पूर्वतर्फ कुलो निर्माण गर्ने काम सुरु गरेको सशस्त्र प्रहरी बलले जनाएको छ। भारततर्फका सीओ मोनी कुमारीको नेतृत्वमा आएको टोलीले बाँध राख्ने स्थानमा मापनसमेत गरेको बताइन्छ।

तर, नेपाली पक्षको दबाबपछि भारतीय अधिकारीले हाललाई बाँध निर्माण नगर्ने सहमति जनाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए। ‘एक साताअघि बाट नै उनीहरूले बाँध बनाउन खोजेका थिए।

हामीले तत्कालै जानकारी पाएपछि आपत्ति जनायौँ,’ प्रजिअ रिसालले भने, ‘बाँध बने नेपाली भूभाग डुबानमा पर्ने भएकाले कुनै गतिविधि नगर्न चेतावनी दिएका छौँ।’ यसअघि पनि भारतले सोही क्षेत्रमा बाँध बनाएपछि रघुनाथपुर आसपासको बस्ती र सशस्त्र प्रहरी बलको बीओपीमा बाढी पस्दै क्षति पुर्‍याएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार