वीरगञ्जमा प्रदर्शनकारीलाई लिन सरकारी गाडी

२०८२ भाद्र १७, मंगलवार २०:३०

सर्लाही – वीरगञ्जमा जनता समाजवादी पार्टी (जसपा) निकट महिला नेतृहरूले खानेपानी मन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोप लागेकी किरण साहविरुद्ध कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।

पर्सा जिल्ला प्रहरी कार्यालयको गेट अगाडि भेला भएकी महिलाले ‘खानेपानीमा राजनीति गर्न पाइँदैन’, ‘मन्त्रीलाई धम्की दिने किरण साहलाई कारबाही गर’ भन्ने नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनपछि केही महिला ई–रिक्सा चढेर फर्किए भने केहीलाई लिन सरकारी गाडी नै पुगेको देखियो। बा १ झ ९०२, बा २ झ २०४१ र बा २ झ २७७० नम्बरका तीन वटा सरकारी गाडीमा उनीहरू बसेर घण्टाघरतर्फ गएका थिए। ती गाडी कुन कार्यालयका थिए भन्ने खुल्न सकेको छैन।

साह बाराको कलैया घर भई हाल वीरगञ्ज–१३ मुर्ली बस्दै आएकी हुन्। हालै वीरगञ्जमा फैलिएको हैजा र झाडापखाला विषयमा मन्त्री यादवसँग फोनमा भनाभन भएपछि उनले धम्की दिएको भन्दै पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो।

मन्त्रीका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीपछि प्रहरीले साहलाई साइबर अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की र अफवाह फैलाएको अभियोगमा पक्राउ गरी अनुसन्धान थालेको छ। अदालतबाट दुईपटक गरी कुल ६ दिनको म्याद पाएको प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार अनुसन्धान जारी छ। तर किरण पक्षले भने परिवारका सदस्य बिरामी भएकाले आवेशमा बोलेको र सजाय दिनुपर्ने कारण नभएको दाबी गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार