ईश्वरपुर नगर अस्पतालमा पहिलो पटक डायलासिस सेवा सुरु हुँदै

२०८२ भाद्र २०, शुक्रबार १०:२८

मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिकाले बयलबासस्थित नगर अस्पतालमै डायलासिस सेवा सुरु गर्ने तयारी अघि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक उपकरण र स्वास्थ्य सामग्री प्राप्त भइसकेको नगरप्रमुख मनोजकुमार आचार्यले जानकारी दिए।

नगरप्रमुख आचार्यका अनुसार नगर क्षेत्रका मिर्गौला पीडितका लागि पहिलोपटक स्थानीय तहमै डायलासिस सुविधा उपलब्ध गराउने लक्ष्यसहित तयारी भइरहेको हो। हाल नगर अस्पतालमा प्रारम्भिक चरणमा आरो प्लान्ट, मोटर र फिल्टर जडानको काम भइरहेको छ। आरो प्लान्टको कार्य सम्पन्न भएपछि डायलासिस मेसिन जडानका लागि इन्जिनियर बोलाइने स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले बताए।

हालसम्म यस क्षेत्रमा डायलासिस गर्न बिरामीहरूलाई जनकपुर, वीरगन्ज, नारायणगढलगायत टाढा सहर धाउनुपर्ने बाध्यता थियो। महँगो खर्च र समयको समस्याबाट स्थानीयवासीलाई जोगाउन आफ्नै नगरमै सेवा सुरु गर्न लागिएको नगरप्रमुख आचार्यले बताए।

डायलासिस सेवाका लागि ईश्वरपुर नगरपालिकाले लामो समयदेखि पहल गर्दै आएको हो। यसै क्रममा हेल्पिङ ह्यान्डले तीन करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने आश्वासन दिएको आचार्यले जानकारी गराए। साथै, राष्ट्रिय मिर्गौला केन्द्र वनस्थलीसँगको सहकार्यमा तीन जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको र थप जनशक्ति दरखास्तमार्फत भर्ना गर्ने तयारी भइरहेको संयोजक महतोले बताए।

हाल प्राप्त दुईवटा मेसिनमार्फत सेवा सुरु गरी केही महिनाभित्रै सरकारको मापदण्डअनुसार कम्तीमा पाँचवटा मेसिन जडान गर्ने लक्ष्य लिइएको छ। सेवा सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरी दुई सय केभीको ट्रान्सफर्मर जडान भइसकेको अस्पतालले जनाएको छ। बिरामीको चापलाई ध्यानमा राख्दै सेवा प्रवाहका लागि आवश्यक मापदण्ड तत्कालै तयार पारिने नगरप्रमुख आचार्यले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार