बरहथवा – अस्पताल प्रशासन र पीडित परिवारबीच सहमति भएपछि मृतक प्रमोद पासवानको शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल पठाइएको छ। शुक्रवार दिउँसो इलाका प्रहरी कार्यालय बरहथवामा भएको छलफलपछि सहमति जुटेपछि शव मलंगवा पठाईएको हो।
स्थानीय स्रोतका अनुसार बिहीवार बिहान सामान्य पेट दुखाइका कारण हनुमन्त अस्पतालमा भर्ना भएका पासवानलाई बेलुकी स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकहरूले थप उपचारका लागि बिरगंज रिफर गरेका थिए। तर बिरगंज लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको थियो।

मृतकका आफन्त र स्थानीयहरूले बिहीवार राति ९ बजेदेखि नै अस्पताल अगाडि शव राखी प्रदर्शन गरेका थिए। करिब १५ घण्टापछि आज मध्यान्ह मात्र सहमति भएपछि शव पोस्टमार्टमका लागि पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी निरन्जन भट्टराईले जानकारी दिए।
सहमति प्रक्रियामा अस्पताल प्रशासनले मृतक परिवारलाई क्षतिपूर्ति स्वरूप ५ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छन्।
सम्बन्धित खबर :
– बरहथवामा अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल अगाडी शव राखेर प्रदर्शन





