आज राति देखिने खग्रास चन्द्रग्रहण: नेपालबाट साढे तीन घण्टा देख्न सकिने

२०८२ भाद्र २२, आईतवार ०६:५६

सर्लाही – आज राति आकाशमा खग्रास चन्द्रग्रहण देखिने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भई ११:५६ मा मध्य अवस्थामा पुग्ने र राति १:४१ बजे पूर्ण रूपमा समाप्त हुनेछ ।

नेपालबाट करिब साढे तीन घण्टा सम्म यो खग्रास चन्द्रग्रहण देख्न सकिनेछ । यो वर्षको दोस्रो भए पनि नेपालबाट प्रत्यक्ष अवलोकन गर्न सकिने चन्द्रग्रहणका रूपमा यो पहिलो हो । समितिले अर्को खण्डग्रास चन्द्रग्रहण भने आउँदो फाल्गुन शुक्ल पूर्णिमामा लाग्ने जनाएको छ ।

ग्रहण हरेक पूर्णिमा वा औँसी तिथिमा लाग्ने गर्दछ । शास्त्रीय मान्यता अनुसार ग्रहण लाग्नु ९ घण्टाअगावै ‘सूतक’ मानिने भएकाले बालबालिका, वृद्ध, राेगी बाहेक अरूलाई खाना खाने वा शयन गर्न निषेध गरिएको छ ।

ज्योतिषशास्त्र अनुसार आजको चन्द्रग्रहण मेष, बृष, कन्या र धनु राशिका लागि शुभ रहने अनुमान गरिएको छ भने मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका लागि प्रतिकूल हुने भनिएको छ ।

चन्द्रग्रहण नेपालसँगै युरोपको उत्तरपूर्वी भाग, एसियाका अधिकांश मुलुक, अस्ट्रेलिया, उत्तरी अमेरिका तथा एटलान्टिक प्यासिफिक किनारका देशहरूबाट पनि अवलोकन गर्न सकिनेछ ।

खग्रास चन्द्रग्रहण तब हुन्छ जब पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दै पूर्ण छायामा चन्द्र ढाकिन्छ । यसबेला चन्द्रमा प्रकाशविहीन भएर कालो देखिन्छ । खण्डग्रासमा आंशिक छाया मात्र पर्दछ भने खग्रासमा पूर्ण छायाले ढाक्छ ।

यद्यपि ग्रहणलाई परम्परागत रूपमा अपशकुनका रूपमा पनि लिइन्छ, वैज्ञानिक दृष्टिले यो प्रकृतिको सामान्य खगोलीय प्रक्रिया मात्र हो । धार्मिक मान्यता अनुसार ग्रहण अवधिभर उपवास बस्ने, भजन कीर्तन गर्ने, ग्रहणपछि स्नान र दानपुण्य गर्ने चलन सदियौँदेखि रहिआएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार