सर्लाही – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जालमा पहुँच पाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ।
आइतबार सार्वजनिक विज्ञप्तिमा मन्त्रालयले नेपालभित्र सूचीकृत नभएका प्लेटफर्म निष्क्रिय गराइएका कारण त्यस्ता सञ्जाल प्रयोग गर्न खोज्दा असुरक्षित र अनाधिकृत भीपीएनको सहारा नलिन आग्रह गरेको हो। मन्त्रालयले भीपीएन प्रयोगले प्रयोगकर्तालाई साइबर सुरक्षाको जोखिममा पार्ने भएकाले सचेत रहन समेत सुझाव दिएको छ।

हालसम्म स्मार्ट आइडिया प्रालि (हाम्रो पात्रो) र ग्लोबल डायरी प्रालि सूचीकरण भई सक्रिय भइसकेका छन्। त्यस्तै, सामाजिक सञ्जाल ट्वीटर (एक्स) र वीच्याटले सूचीकरणका लागि मागेको जानकारीसम्बन्धी विवरण नेपाल सरकारले उपलब्ध गराइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई सूचीकरण नभएका सञ्जालमा पहुँच रोक्न निर्देशन दिइसकेको पनि उल्लेख गरेको छ।







