सर्लाहीमा अशक्त र वृद्ध नागरिकलाई घरमै पुगेर नागरिकता वितरण

२०८२ भाद्र २२, आईतवार १८:५६

सर्लाही – नागरिकता लिन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सर्लाही प्रशासनले अशक्त र वृद्ध नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठ र सहायक सिडिओ शिवहरि पोखरेल आइतबार टोलीसहित सेवाग्राहीका घरमै पुगेका थिए।

टोलीले गोडैता नगरपालिका–५, रामवनका ८१ वर्षीय फरमूद मियाँ, उनकी ७९ वर्षीया श्रीमती ऐसा खातुन र कबिलासी नगरपालिका–७, जमुनियाकी ७३ वर्षीया अशक्त महिला सैरुल खातुन फकिरलाई नागरिकता हस्तान्तरण गरेको हो।

फरमूद मियाँ दम्पत्तिलाई नागरिकताको प्रथम प्रतिलिपि र सैरुललाई दोस्रो प्रतिलिपि वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए। गोडैतामा नगरप्रमुख देवेन्द्र यादव र कबिलासीमा नगरप्रमुख ब्रह्मदेव रायसहित स्थानीय जनप्रतिनिधि उपस्थित थिए।

घरमै आएर नागरिकता प्रदान भएपछि सेवाग्राही खुसी भएका छन्। गोडैता नगरप्रमुख यादवले सरकारी सेवा सहज र पहुँचयोग्य बनाउन यस किसिमको पहल प्रशंसनीय भएको बताए। प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको प्रशासन कार्यालय अब सेवाग्राहीलाई घरमै सहज सुविधा दिने वातावरण बनाउन निरन्तर प्रयासरत छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार