मलंगवा – सर्लाहीमा निरन्तर अनियमित रुपमा विद्युत् आपूर्ति अवरुद्ध हुने क्रम बढेपछि सर्वसाधारण आक्रोशित भएका छन् । जिल्लामा रहेका मलंगवा, बरहथवा र लालबन्दी वितरण केन्द्रबाट बारम्बार अनियमित कटौती हुँदा दैनिक जीवन अस्तव्यस्त बनेको स्थानीयवासीको गुनासो छ ।
दिनभर पटक पटक लाइन जाने गरेकाले चर्को गर्मीमा जनजीवन कष्टकर बनेको छ भने, विद्युतीय उपकरणमा भर पर्ने उद्योग व्यवसायदेखि लिएर विद्यार्थीको पढाइसम्म प्रभावित भएको छ । घरायसी कामकाजमा समेत ठुलो असर परेको स्थानीयहरू बताउँछन् ।

प्राधिकरणका वितरण केन्द्रहरूले मर्मत सम्भारको नाममा कहिले सूचना दिई त कहिले विना सूचनै लाइन काट्ने गरेका कारण जनतामा असन्तुष्टि चुलिएको छ । मलंगवा वितरण केन्द्रमा फोन गर्दा प्रायः “माथिबाटै काटिएको हो, हामीलाई जानकारी छैन” भन्ने जवाफ मात्र आउने गरेको सेवाग्राहीको अनुभव छ ।
अनियमित कटौतीका कारण खेतमा मोटर चलाएर पानी हाल्ने किसानदेखि लिएर कार्यालय र साना व्यवसायसमेत प्रभावित भइरहेका छन् । गर्मीयाममा चर्को गर्मी सहनुपरेको मात्र नभई विद्युत आपूर्तिमा देखिएको अव्यवस्था प्रति स्थानीयले तत्काल ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।





