बारामा बाघको आतंक: एक महिनामै चार जनाको मृत्यु

२०८२ भाद्र २३, सोमबार १४:२१
सांकेतिक तस्बिर

सर्लाही – बारामा बाघको आक्रमणबाट एक महिना भित्रै चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा जीतपुरसिमरा – १ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा – २ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा र रमेश कार्की तथा मकवानपुरको मनहरी गाउँपालिका – ५ का ५५ वर्षीय चन्द्रबहादुर भुल रहेका छन्।

आइतबार जीतपुरसिमरा – ४ को प्रगतिशील सामुदायिक वनमा बाघको आक्रमणबाट छेवाङ्ग लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।

च्याउ टिप्न जंगल गएका बेला बाघले उनलाई आक्रमण गरेको र घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ। लगातारको आक्रमणपछि बाघ नियन्त्रणमा लिन चितवनबाट विशेष टोली परिचालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए।

उनका अनुसार डार्ट प्रयोग गरेर नियन्त्रणमा लिने तयारीस्वरूप सौराहाबाट दुई वटा हातीसहित पशु चिकित्सकको टोली बारामा पुगेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार