जेन-जीकाे समर्थनमा सर्लाहीमा युवाहरुको चक्काजाम

२०८२ भाद्र २३, सोमबार २०:१५

सर्लाही – काठमाडौँ लगायत देशका विभिन्न सहरमा जेन – जी युवामाथि भएको प्रहरी दमनप्रति आक्रोश व्यक्त गर्दै सर्लाहीको नवलपुरमा स्थानीय युवाहरुले सोमबार बेलुकी प्रदर्शन गरेका छन्।

उनीहरुले महेन्द्र राजमार्ग अवरुद्ध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित वर्तमान सरकारले राजीनामा दिनुपर्ने माग गरेका थिए। साथै प्रदर्शनका क्रममा मारिएका जेन–जी युवाका दोषीलाई कारबाही गर्नुपर्ने भन्दै युवाहरुले नाराबाजी गरेका हुन्।

साँझ करिब ६ बजेदेखि एक घण्टासम्म अवरुद्ध भएको महेन्द्र राजमार्ग बेलुकी ७ बजेतिर पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मलंगवाका कार्यवाहक प्रमुख प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।

यसैबीच, सोमबार दिनभर काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा भएका प्रदर्शनमा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या २० पुगेको छ भने ३४७ भन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार