मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवा मंगलबार बिहानै जेन–जी आन्दोलनकारी युवाको आक्रोशको केन्द्र बन्यो। आन्दोलनरत समूहले नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका छन्।
मलंगवा–२ स्थित स्व. मनमोहन अधिकारी सामुदायिक भवनभित्र रहेको नेकपा एमालेको जिल्ला कार्यालयमा घुस्दै प्रदर्शनकारीले फर्निचर तथा सामग्रीमा आगो लगाइदिएका थिए। त्यस्तै, मलंगवा–८ मा रहेको नेपाली कांग्रेस कार्यालयमा पनि उग्र युवाहरुले ढोका–झ्याल तोडफोड गर्दै आगजनी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार दुवै दलका कार्यालयमा क्षति पुगेको छ। उनका अनुसार जिल्लाभर आन्दोलन चर्किएको छ र सम्भावित अप्रिय घटना नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई उच्च सतर्कतासहित परिचालन गरिएको छ।
साथै, उक्त स्थलबाट प्रहरीले दुई जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। मलंगवामात्र होइन, हरिवन, लालबन्दी, बागमती हुँदै महेन्द्र राजमार्गका विभिन्न खण्डमा पनि युवाहरुले टायर बाल्दै सडक अवरुद्ध पारेका छन्। नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत गम्हरिया क्षेत्रमा समेत राजमार्ग बन्द गराइएको छ। र्याली र नाराबाजीका कारण यातायात पूर्ण रुपमा प्रभावित बनेको छ।
उग्र आन्दोलनकै कारण जिल्लाभित्रका प्रमुख बजार र विद्यालयहरु बन्द गरिएका छन्। विद्यार्थी पढ्न गएका थिए तर अशान्त वातावरणकै कारण शैक्षिक संस्था बन्द गर्न बाध्य भएको स्थानीय शिक्षकहरूले बताएका छन्।
यसअघि सोमबार काठमाडाैंसहित मुलुकका विभिन्न शहरमा भएको जेन–जी युवाहरुको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको ज्यान गएको थियो भने ३४७ जना घाइते भएका थिए।





