सर्लाही – जेनजी आन्दोलन व्यापक बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।
हिजोदेखि मुलुकभर चर्किएको प्रदर्शनले राजनीतिक संकट गहिरिँदै गएको अवस्थामा प्रधानमन्त्री ओलीले पद त्यागेको प्रधानमन्त्री निवास स्रोतले पुष्टि गरेको छ। यस अघि गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए। मंगलबार बिहानै मन्त्रिपरिषद्को अन्य तीन सदस्यले समेत पद छाडेपछि सरकार झनै अस्थिर बनेको थियो।

२ दिनदेखि जारी विरोध प्रदर्शनमा कम्तीमा दुई जनाको मृत्यु भइसकेको छ भने विभिन्न नेताहरूका घर तथा सम्पत्तिमा तोडफोड र क्षति पुगेको छ। राजधानीमै संसद भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारी प्रवेश गरेका थिए। स्थिति नियन्त्रणबाहिर जाँदा भैँसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।





