फ्रान्समा सरकारविरोधी बिद्रोह: १ लाख भन्दा बढी प्रदर्शनकारी सडकमा, राष्ट्रपतिको राजीनामा मुख्य माग

२०८२ भाद्र २५, बुधबार १७:१७

सर्लाही – फ्रान्समा बजेट कटौती र राष्ट्रपति इम्यानुएल मैक्रोंको राजीनामाको मागसहित १ लाखभन्दा बढी नागरिक सडकमा उत्रिएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बुधबार राजधानी पेरिससहित विभिन्न सहरमा भएको आन्दोलनमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनीसमेत गरेका छन् ।

गृहमन्त्री ब्रुनो रेतेयोका अनुसार रेन सहरमा एउटा बसमा आगो लगाइएको छ भने दक्षिण – पश्चिमी क्षेत्रमा बिजुली लाइन क्षतिग्रस्त भएपछि रेल सेवा प्रभावित भएको छ । उनका अनुसार प्रदर्शनकारीहरूले विद्रोह भड्काउने प्रयास गरेका छन् । आन्दोलन नियन्त्रणका लागि सरकारले ८० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ भने हालसम्म २०० भन्दा बढी पक्राउ परिसकेका छन् ।

वामपन्थी दल र जमीनी संगठनहरूको आह्वानमा सुरु भएको ‘ब्लक एभ्रिथिङ’ आन्दोलनले मुलुकभर प्रभाव पारेको छ । प्रदर्शनको मूल कारण राष्ट्रपति मैक्रोंका धनीमुखी नीति, कल्याणकारी योजनामा गरिएको बजेट कटौती, दुई वर्षमै पाँचौँ प्रधानमन्त्रीको नियुक्तिबाट देखिएको राजनीतिक अस्थिरता र वामपन्थी गठबन्धनको सर्वसत्तै ठप्प पार्ने अभियान रहेका छन् ।

यस्तो परिस्थितिमा नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नू कार्यभार सम्हाल्न लागेका छन् । उनका पूर्ववर्ती फ्रान्स्वा बायरूले संसदमा अविश्वास प्रस्ताव पारित भएपछि मंगलबार पदत्याग गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार